सधैं झल्किरहने फिलिपिनो मित्रहरुको मुस्कान
डा. कर्ण राना
उप–प्राध्यापक, नेपाल खुला
विश्वविद्यालय, नेपाल
x
हुन त विभिन्न देशको परिवेश, संस्कार, धर्म, रीतिरिवाज, मूल्य र
मान्यताअनुसार मानिसहरूको फरक फरक सोच विचार हुनु स्वाभाविक हो । एकअर्का आमने
सामने हुँदा सामाजिक संस्कार अनुशासन झल्काउने दृश्य भाव सित्तैमा अरुलाई पस्किने
भनेकै मुस्कान हो । मेरो यात्रामा भेटिएका थुप्रै अनगिन्ति मित्रहरूले दिएको
अमुल्य मुस्कानले मलाई थुप्रै गारो अप्ठेरो अवस्थामा Typhoid उपचार गर्दा खाने ठिगुराको जस्तै काम गरेको छ । परिवार अनि
देश छोडी बिरानो देशका गल्लीमा पाइला गन्दै बढ्दै गर्दा अन्जान व्यक्तिको
मुस्कानले कति महत्त्व राख्यो होला आज वयान गर्न सक्दिन । तर कुनै मुस्कान
मानवीयता दर्शाउने औपचारिकता मात्रै हुँदैनन् । बरु दाजुभाइ वा आफ्नै आफन्त जस्तै
सम्झेर पस्किने मायाको सहृदयी भावना हुने गर्छन् । त्यस्तै एउटा अनुभव यहाँ पस्किन्छु । New Zealand को मेरो करिब तीन र आधा वर्षको बसाइमा
प्राय हरेक दिन कहीँ न कहीँ बाटो,
पसल र काममा भेटिने अनि सित्तैमा प्राप्त हुने मुस्कान खास थियो । जसले मलाई
सधैँ एकान्तमा पनि एक्लै मुस्कुराउन बाध्य बनाउथ्यो । हुन त New Zealand यस्तो देश हो जहाँ संसारका मानिसहरू
यात्रा र बसोबास गर्ने गर्छन् । यसर्थ यो बहुराष्ट्रिय संस्कार संस्कृतिले भरिएको
देश हो । मेरो लागि फिलिपिन्सका मनुवाहरू औधी आफ्नै लाग्छ । New Zealand मा आप्रवासी जनसङ्ख्यामध्ये फिलिपिनो
कै आधिक्य छ । किन हो किन उनीहरूले मलाई सधैँ भेट्दा देख्दा बाटोमा अचम्मैको
मुस्कान दिन्थे । अनि मैले दुई गुणा मुस्कान थपिदिन्थेँ । बाटोको पल्लो किनारबाटै
मुस्कान पठाउँथे अनि मैले अरु थपिदिन्थेँ । मलाई यो मुस्कान बुझ्न धेरै समय लाग्यो
। सुपरमार्केटको भिड नै किन नहोस् गाडी हाँकिरहेको बेला रातो ट्राफिक बत्तीमा कार
रोक्दा नजिकै जुध्ने फिलिपिनो अनुहारले सधैँ तिखो मुस्कान दिने गर्दथ्यो । यो मजा
सायदै अरु व्यक्तिले पाए होलान् । यो क्रम महिना अनि वर्ष चलिरह्यो । यही क्रममा
मैले अन्य नेपाली मित्रहरूलाई सोध्ने गर्थें तर खाँटी जवाफ प्राप्त गर्न सकेको
थिएन । म मुस्कानमा रमिरहेको थिएँ ।
मेरो कार्यथलोमा थुप्रै फिलिपिनो साथी
थिए । उनीहरूसँग काम गर्दा अलि अलि तगालोग भाषा सिक्ने अवसर मिलेको थियो । अझै याद
छन् केही शब्द जस्तै : पोगी (सुन्दर), मगन्दा (सुन्दरी), पाङ्गेत (कुरुप), माबुहाए (नमस्ते), सलामत (धन्यवाद/राम्रो होस्/फेरि भेटौँला) । उनीहरूसँग जिस्किने रमाउने गर्दा लाग्थ्यो
उनीहरू मेरै समाज गाउँ ठाउँका हुन् । यस्तै क्रममा नजिकै आफ्नै लाग्ने फिलिपिनो
मित्रसँग कुनै बेला सोधेको थिएँ: “किन फिलिपिनोहरूले मलाई देख्ने बित्तिकै नजिक वा
टाढै बाट मुस्कान दिन्छन ?”
यिनले निकै जोडले हास्दै रोकिदै अनि हाँस्दै मलाई अचम्मले हेर्दै केही बेरमा
बढो मिठो जवाफ दिए : “किनकि तिमी फिलिपिनो जस्तै छौ । अनुहार, जिउडाल उस्तै छ ।
त्यसैले उनीहरूले तिमीलाई आफ्नै देश र समाजको सम्झेर भेट्दा देख्दा अभिवादन गर्छन्
। त्यो हाम्रो संस्कार हो ।” अनि मेरो लामो खुल्दुली मेटियो । त्यसपछि झन् उनीहरू
प्रति मेरो माया सद्भाव निकै बढ्यो । अनि मैले पनि देख्दा भेट्दा “माबुहाए” भन्ने
गर्थें अनि उनीहरू नि खुसी हुन्थे । यो मुस्कान केवल मानवीय नाता जोड्ने भावना
मात्रै थिएन । यो मुस्कान हाम्रो समान शारीरिक रूप अनि उस्तै संस्कार दर्शाउने अति
अमुल्य चिनारी थियो । हाम्रो नेपाली समाज
यस्तै अमूल्य मुस्कानले जोडिएको बनेको समाज हो । विशेषगरी आदिवासी नेपाली विभिन्न
नाचगानमा रोइला गर्दै दुःखसुख बराबरी साटासाट गर्दै जिउने समाजको रूपमा चिनिन्छ ।
सायद मेरो यो संस्कार फिलिपिनो सम्माजसँग पक्कै मिलेको हुनुपर्छ र अनि हाम्रो
हेराइ र मुस्कानमा आफ्नोपन भेटिएको हुनुपर्छ । उनीहरू समूहमा भोज गर्न, यात्रा गर्न, पिउन, नाच्न अनि रमाउन
निकै पारखी हुन्छन् । यो विशेषगरी नेपाली आदिवासी सम्माजसँग अत्यन्त मिल्दोजुल्दो
देखिन्छ ।
यो मेरो जीवनको कुनै क्षणको अनुभव
मात्र नभई जीवनोपयोगी शिक्षा पनि हो । हुन त मेरो यात्रा बसाइ अन्य देश परिवेसमा
पनि उत्तिकै महत्वपुर्ण अर्थपूर्ण थियो तर सित्तैको मुस्कान जो कोहिले अरुलाई दिने
गरेको पाइदैन । यो मेरो अनुभव हो । त्यो बिशेष मुस्कान “फिलिपिनो मुस्कान” जसले
मेरो अनन्य यात्रामा मूल्य थपेको थियो र सधैं मेरो मानसपटलमा ताजै रहनेछ । केहि
फिलिपिनोको मुस्कानले मेरो नजरमा पुरै फिलिपिन्स समाज र देश प्रति सकारात्मक र
प्रेम भावना जगायो । त्यसैले म एक व्यक्ति मात्र होइन यात्रामा “म” पुरै नेपाल देश
हो । मेरो एक मुस्कानले मेरो देश र समाजको
झलक दर्शाउने गर्दछ । “मुस्कान दिउँ
पहिचान बनाउँ” ।
A smile representing beautiful Nepal among the diverse cultures.
ReplyDelete